काठमाडौं— भारतको कोलकाताको आरजी कार मेडिकल कलेजका एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको कथित विरोध प्रदर्शनका बीच पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफ्नो सरकारले बलात्कारीहरूलाई मृत्युदण्ड दिने विधेयक ल्याउने बताएकी छन्।
मुख्यमन्त्री बनर्जीले भनिन् ‘आगामी साता संसद् बैठक बोलाएर बलात्कारीलाई मृत्युदण्डको सजाय दिने गरी दश दिनभित्र विधेयक पारित गर्छौं। यसपछि हामी यो विधेयक गभर्नरलाई पठाउनेछौँ। यदि उनीहरूले विधेयक स्वीकृत गरेन भने हामी राजभवन बाहिर आन्दोलन गर्नेछौँ। यो विधेयक पारित गर्नुपर्छ र यसपटक आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन।'
कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको आरोपमा जनताको प्रदर्शन जारी छ भने राज्य सरकारको भूमिकाको आलोचना भइरहेको छ।
महिला डाक्टरमाथि बलात्कारपछि भएको हत्याको घटनाले सिङ्गो भारतसहित अन्तर्राष्ट्रिय स्तरमै स्तब्ध बनाएको छ।
यो घटनापछि भारतभरका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् भने घटनापछि प्रदेश सरकारको कदम बारे आलोचना भइरहेको छ।
यस विषयमा आफैँले स्वज्ञान लिएर सर्वोच्च अदालतले सुनुवाइ गर्दै अस्पतालको सुरक्षा, महिला स्वास्थ्यकर्मीहरूलाई कार्यस्थलमा दिनुपर्ने सुरक्षाको विषयमा महत्वपूर्ण आदेश दिएको छ।