
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले अमुक ल फर्मले बनाएको विधेयक संसद्मा ल्याएको भन्दै संसद्मा प्रश्न उठाएकी छन्।बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले धितोपत्र ऐन संशोधन विधेयकको ‘अथर’को खोजी गर्न भनेकी छन्।
‘संसद्मा भएको विधेयक डाउनलोड गरेर त्यसको प्रोपर्टिज एकताली हेरौँ, त्यसको ‘अथर’ को छ ? एउटा अमुक ल फर्मको नाम छ त्यसमा’ उनले भनिन्। यस्तो कसरी भयो भन्ने उनको प्रश्न छ। ‘के अर्थ मन्त्रालयको वर्ड, माइक्रोसफ्ट वर्ड सबै त्यो ल फर्मले किनिदिएको हो कि ? त्यो विधेयक नै ल फर्ममा गएर ड्राफ्ट भएको हो?’, सांसद सुमनाको प्रश्न छ।
उनी थप्छिन्, ‘यस्तो महत्वपूर्ण विधेयक। नेपालको जुनसुकै विधेयक पनि नेपालको कर्मचारीले ड्राफ्ट गर्छ कि? सरकारले ड्राफ्ट गर्छ कि कुनै ल फर्मले ड्राफ्ट गर्छ?’
आउट सोर्स गरेको भए त्यसको डकुमेन्ट दिनुपर्ने उनले बताइन्। ‘यदि यो धितोपत्र ऐन संशोधनको विधेयक एउटा अमुक ल फर्ममा डेभलप्ड गरेको भए खारेज गरेर फेरि अर्को दर्ता गर्नुपर्यो’, सांसद श्रेष्ठले भनेकी छन्।
धितोपत्र सम्बन्धी संशोधन विधेयक अर्थमन्त्री विष्णु पौडेलले गत साउन ३१ गते प्रतिनिधि सभामा दर्ता गरेका थिए। पुँजी परिचालन तथा पुँजी बजारको विकास, लगानीकर्ताको हित, संरक्षण एवं नियमन लगायतका कार्यको लागि विधेयक ल्याइएको अर्थमन्त्री पौडेलले विधेयकमा उल्लेख गरेका छन्।