काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद हरि ढकालले गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा होहल्ला गरेको आरोपमा पक्राउ परेका युवाहरूलाई रिहा गर्न माग गरेका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले युवाहरूको विरोधलाई अराजक शैली भन्दै पक्राउ गरिनु गलत भएको बताए। सरकारले युवाका विरोधका बोली सुन्नुपर्ने पनि उनले बताए।
‘गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा टुँडिखेलमा युवाहरूले विरोध भाषण गरे। यसलाई अराजक शैली अनेक बहाना लगाएर सरकारले त्यो भिडियो फुटेजहरू स्क्रिनिङ गरिगरि हिजोबाट ति युवा साथीहरूलाई हिरासतमा राख्न थालेको रहेछ। यो बिल्कुल गलत भएको छ,’ उनले भने, ‘विरोधका बोली त्यो पनि युवाले राखेको राज्यले सुन्न सक्ने धैर्यता राख्नुपर्छ।’
युवाहरूले सिंहदरबारमा बस्नेहरूलाई खबरदारी गरेको पनि उनले बताए। ‘रोजगारीबाट बञ्चित बनाइएका ति युवाहरूले सिंहदरबार भित्रका बेइमानीहरूलाई खबरदारी गर्दैगर्दा यसरी समाउन पाइदैन। ति युवाहरूको तत्काल रिहाको माग गर्न चाहन्छु,’ उनले भने।
युवाहरूको समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी गरेका थिए।