News Griha :: न्यूजगृह
प्रचण्डलाई एमालेको जवाफ– प्रमुख प्रतिपक्षी दलको नेता जनार्दनलाई बनाउनुस्, हामीलाई चाहिँदैन

काठमाडौं—  प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि राख्न माओवादी केन्द्रले राखेको प्रस्तावलाई नेकपा एमालेले प्रतिवाद गरेको छ। 

मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखा समितिमात्रै नभइ प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि राख्न सत्तारुढ दललाई आग्रह गरेका थिए। 

‘सुन्नुहोस् कांग्रेस–एमालेका साथीहरू, हाम्रो भूमिका खोसेर तपाईंहरू हामीलाई जनताको आवाज उठाउनबाट रोक्न सक्नुहुन्न। मेरो च्यालेन्ज भयो, लेखा समिति मात्रै किन? चाहिन्छ भने प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि तपाईंहरूसँगै राख्नोस्,’ प्रचण्डले बैठकमा भनेका थिए।

प्रचण्डको सम्बोधनपछि विशेष समयमा बोलेका एमाले नेता रघुजी पन्तले भने संविधान पढ्न आग्रह गरे। उनले प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक पद भएकाले कसैले खोजेर नपाइने पद भएको जिकिर गरे। 

‘उहाँले लान्छित गरेर सबै तपाईंहरूलाई चाहिएको छ, त्यसो भए प्रमुख प्रतिपक्षको पद पनि लैजानुस्, तपाईंले नै राखे हुन्छ भन्नुभयो। संविधान त पढ्नुस् नेता ज्यू। प्रमुख प्रतिपक्षीको पद तपाईंले खोजेर पाउने पद होइन। हामीले खोजेर पाउने पद होइन। यो एउटा संवैधानिक पद हो। यो तपाईंलाई पनि दिइएको होइन, तपाईंको दललाई दिएको हो,’ पन्तले भने। 

त्यसपछि उनी माओवादी केन्द्रमा पछिल्लो समय भइरहेको नेतृत्व परिवर्तनको बसहलाई इंकित गर्दै उपमहासचिव जनार्दन शर्मालाई नै त्यो पद दिन आग्रह गरे। 

‘दुई ठूला दल मिलेर सरकार बनाएपछि तेस्रो ठूलो दल प्रमुख प्रतिपक्षीमा स्वतः हुने भएपछि त्यो पार्टीलाई दिइएको हो। मन लाग्दैन भने, तपाईंकै छेउमा जनार्दनजी बस्नुभएको छ। दिनुहोस् न उहाँलाई। चाहिएन हामीलाई। किनभने हामीले लिनुपर्ने पद पनि होइन। आफ्नै दलको कुनै नेतालाई दिनुस्,’ पन्तले भने। 

उनले प्रधानमन्त्री पद गएपछि प्रचण्डमा छटपटी बढेको टिप्पणी गरे। 

‘यति ज्ञान त हुनुपर्यो नि। प्रमुख प्रतिपक्षीको नेता हुने, अनि यो पद पनि लैजाउँ भन्ने। किन प्रधानमन्त्री पद गएको यति औडाह र छटपटी यति छिटै देखाउनुपरेको?’

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १६:०२
Weather Update