
काठमाडौं— नेकपा एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि आज निर्वाचन हुँदै छ।
सहमतिको प्रयास सफल नभएपछि सोमबारको केन्द्रीय समिति बैठकले निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पार्टीको निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाएको हो।
मंगलबार बिहानदेखि उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम हुने छ। त्यसपछि दिउँसो २ बजेदेखि मतदान सुरु हुने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलद्वारा जारी तालिकामा उल्लेख छ।
एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीको व्यवस्था छ। तर, हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी मात्र छन्।
आजको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष पनि चयन हुनेछन्। यसैगरी ८४ सदस्यीय पोलिटब्युरो पनि निर्वाचनबाट चयन गरिने छ।
एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ। केन्द्रीय कमिटी सदस्यहरुले पदाधिकारी र पोलिटब्युरो चयन गर्ने छन्।