News Griha :: न्यूजगृह
मुकुललाई साधारण सदस्यबाट पनि हटाउन सिफारिस, अन्तिम निर्णय केन्द्रीय समितिले गर्ने

काठमाडौ‌—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय, चःमतीमा बस्ने बैठकमा पार्टी अनुशासनसम्बन्धी कारबाही, राष्ट्रिय भेलाको तयारी, स्थानीय छायाँ सरकारका कार्यविधि लगायतका विषयमा छलफल हुने रास्वपाले जनाएको छ।

अनुशासनात्मक कारबाही सन्दर्भमा सोमबार बस्ने बैठकले निलम्बित महामन्त्री डा मुकुल ढकालबारे अन्तिम निर्णय लिने सम्भावना रहेको नेताहरूले बताएका छन्। पार्टीविरुद्ध लागेको भन्दै निलम्बनमा परेका महामन्त्री ढकाललाई रास्वपाले पटक–पटक स्पष्टीकरण सोधेको थियो।

पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै महामन्त्री र प्रवक्ता पदबाट निलम्बन गरेको रास्वपाले स्पष्टीकरणका लागि सुरुमा ३५ दिनको समय दिएको थियो।  त्यसपछि पनि उनलाई पार्टीले दोहोर्‍याएर स्पष्टीकरणको मौका दिएको थियो। यद्यपि, ढकालले कारबाहीमा परेपछि झनै पार्टीप्रति प्रश्न गर्न नछाडेपछि अन्ततः साधारण सदस्यबाट पनि निकाल्ने तयारीमा रास्वपा पुगेको हो।

पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार, अनुशासन आयोगले ढकाललाई कारबाही गर्नका लागि आवश्यक प्रमाण पार्टीमा बुझाइसकेको छ। ‘भोलि बिहान पार्टीको केन्द्रीय समिति बैठक छ। जसमा पार्टी अनुशासनसम्बन्धी पनि छ। अनुशासन आयोगले उहाँलाई कारबाही गर्नुपर्छ भनेर बुझाई र प्रमाण यथेष्ट बुझाइसकेको अवस्था छ,’ झाले भने।

यद्यपि, सोमबारकै बैठकले निर्णय गर्ने वा नगर्ने भन्नेबारे अहिले केही भन्न नसकिने उनको भनाइ छ। ‘यही हुन्छ भनेर मैले भन्न मिल्दैन। म भन्दा धेरै माथि केन्द्रीय समिति हो। केन्द्रीय समितिको छलफल र निर्णय के हुन्छ भन्ने मैले अनुमान गर्नु भनेको त्यसको अपमान हो,’ झाले भने। 

अहिलेसम्म अनुशासन आयोगले दिएको सुझाव, प्रतिवेदन र ढकाललाई दिएको समय सकिइसकेको उनले बताए।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १४:३२
Weather Update