News Griha :: न्यूजगृह
मर्स्याङ्दीमा खसेको बस अझै निकाल्न सकिएन, सडक बन्द लम्बिँदा यात्रुलाई सकस

काठमाडौं— पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा खसेको बस निकाल्न सडक बन्द गरी काम भइरहेको छ।

गत शुक्रबार पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय बस नदीमा खसेको थियो। उक्त बस निकाल्नका लागि आज  सोमबार बिहान ६ बजेदेखि सडक अवरुद्ध गरी काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

बिहान १० बजेसम्म सडक अवरुद्ध गर्ने भनिएकामा काम नसकिएकाले अझै केही समय लाग्ने देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए। 

बस निकाल्ने काम भइरहे पनि सफल हुन नसकेको उनको भनाइ छ। पूर्वनिर्धारित गरेभन्दा बढी समय आँबुखैरेनी-मुग्लिन सडक अवरुद्ध हुँदा यात्रु समस्यामा परेका छन्। 

अहिले थप क्रेन र उपकरण मगाएर बस निकाल्ने प्रयास भइरहेको छ। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको भारतीय पर्यटक सवार भारतीय बस नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते १६ जनाको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १३:४१
Weather Update