
काठमाडौं— आगोले जलेर गम्भीर घाइते भएपछि भारतमा उपचार गराइरहेका सांसद एवं कांग्रेस नेता डा. चन्द्र भण्डारी भोलि स्वदेश फर्कने भएका छन् ।
‘सांसद डा. भण्डारी २०८० वैशाख १७ गते आइतबार करिब साढे दुई महिनापछि (दिउँसो २ः५५ बजे मुम्बईबाट) नेपाल वायुसेवा निगमको मुम्बई–काठमाडौं नियमित उडानबाट नेपाल फर्किदै हुनुहुन्छ,’ उनका स्वकीय सचिव वोधराज कँडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
गुल्मी १ का भण्डारीलाई ३ फागुन २०७९ मा स्वदेशमै प्रारम्भिक उपचारपछि डाक्टरहरूको सल्लाहमा भारतको महाराष्ट्र मुम्बईस्थित नेसनल बर्न अस्पताल लगिएको थियो । त्यहाँ वरिष्ठ चिकित्सकहरुको निगरानीमा उनको उपचार भइरहेको थियो ।
आगलागीमा भण्डारीले आफ्नी आमालाई गुमाउनु परेको थियो ।
अहिले उनको स्वास्थ्य क्रमिक रूपमा सुधार भइरहेको छ । थप स्वास्थ्योपचार नेपालमै गरिने भएको छ ।
नाेट : यसअघि अर्कै तस्बिर प्रकाशित हुन पुगेकाेमा माफी चाहन्छाैँ ।