News Griha :: न्यूजगृह
पार्टीमा कुनै विवाद छैन : अध्यक्ष प्रचण्ड
फाइल तस्बिर।

कास्की— नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कुनै विवाद नरहेको बताएका छन्। 

पोखरामा आइतबारदेखी सुरु भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकमा उनले पार्टीमा अब कुनै पनि विभाजन नआउने र विगतमा विभाजित भएकाहरू समेत एकै ठाउँमा केन्द्रित हुने उल्लेख गरे। 

अध्यक्ष प्रचण्डले भने, 'हामी पार्टीमा विवाद भएकाले तपाईंहरूसँग आएका होइनौँ। पार्टीलाई थप गतिशील र सुदृढ बनाउने योजनाअनुसार कुरा सुन्न आएका हौँ। हाम्रो पार्टी पूर्ण रूपमा एकताबद्ध छ, कसैले फुटाउन सक्दैन बरु फुटेर गएका शक्तिलाई एकताबद्ध गरिनेछ।'

पार्टीको नेतृत्वमा बनेको सरकारले विकास, समृद्धि र सुशासनका लागि धेरै काम गरेको बताउँदै दाहालले ती कामको जनतामा प्रचारप्रसार गर्न आग्रह गरे। यही भदौ १० गतेसम्म सञ्चालन हुने बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको सहभागितामा परामर्श बैठक बसेको पार्टीका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिए। 

बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीले आफ्नो भनाइ राखेका थिए। माओवादी केन्द्रको गत साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीका लागि केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीका बीचमा छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेको थियो। बैठकमा स्थायी समितिको निर्णय र परिपत्रसहितका प्रस्तावमाथि परामर्श हुने प्रदेश अध्यक्ष गुरुङले बताए।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  २१:०४
Weather Update