News Griha :: न्यूजगृह
कोशी प्रदेशमा भदौ १२ गतेभित्र मन्त्रिमण्डल विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

मोरङ— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ १२ गतेभित्र प्रदेशमा मन्त्रिमण्डल विस्तार हुने बताएका छन्। 

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरूसँग उनले नेपाली कांग्रेसले मन्त्रीको नाम दिनासाथ मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए। 

मुख्यमन्त्री कार्कीले भदौ १४ गतेदेखि सुरु हुने प्रदेशसभा बैठकमा सहभागी हुने गरी सबै मन्त्री नियुक्त हुने बताए। उनले विगतमा भएको सहमतिअनुसार प्रदेशमा मन्त्रालयको सङ्ख्या वृद्धि नहुने र नेेकपा एमालेबाट मुख्यमन्त्रीसहित ५ र कांग्रेसबाट ४ मन्त्री रहनेसमेत स्पष्ट पारे। 

मुख्यमन्त्री कार्कीले भने, 'एक/दुई राज्यमन्त्री थप हुन सक्ने सम्भावना रहे पनि पूर्वसहमतिअनुसार बाँकी मन्त्री रहन्छन्।'

पहिचानवादीहरूका मागका सन्दर्भमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उनले प्रदेशको नामकरण भइसकेकाले परिवर्तन नहुने र मन्त्री रामबहादुर रानाको नेतृत्वमा रहेको वार्ता टोलीले आवश्यकताअनुसार विभिन्न विषयमा वार्ता गर्ने जानकारी दिए। 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  २०:५२
Weather Update