News Griha :: न्यूजगृह
दोरम्बा पहिरोः शव परीक्षण गरी परिवारलाई बुझाइयो

रामेछाप— रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा  गएराति गएको पहिरोमा परी  मृत्यु भएका छ जनाको शव घटनास्थलमै परीक्षण गरी परिवारलाई बुझाइएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने मृतकको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको हो।

हराइरहेका अन्य चारजनाको खोजी भइरहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए। पहिरो एक किलोमिटर लामो भएकाले खोजतलासमा समस्या भइरहेको उनले बताए।

pahiro_doramba_1-1724584169.jpgपहिरोमा परी शैलुङ–३ की ३० वर्षीया चण्डिका श्रेष्ठ, उनका १८ महिने छोरा आयुष, सोही वडाका क्रमशः ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीया सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरीको ज्यान गएको थियो।

सो वडाको लेखर्कमा गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोले तीनवटा घर बगाएको र एउटा घर पुरिएको प्रहरीले जनाएको छ। पहिरोले वडा नं २ र ३ को सिमानामा रहेको अँधेरी खोलाको पक्की पुल पनि बगाएको छ। 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १६:४९
Weather Update