News Griha :: न्यूजगृह
इजरायल–हिजबुल्लाह तनावः लेबनानमा नेपाली शान्तिसेना तैनाथ इलाका सुरक्षित

काठमाडौं— लेबनानको हिजबुल्लाह समूह र इजरायबीच एकअर्काविरुद्ध मिसाइल हानाहानपछि तनावपूर्ण अवस्था उत्पन्न भइरहेका बेला संयुक्त राष्ट्र संघीय शान्ति मिसन अन्तर्गत लेबनानमा नेपाली शान्तिसैनिक तैनाथ इलाका हालसम्म सुरक्षित अवस्थामा छ।

हिजबुल्लाह र इजरायबीच रकेट, ड्रोन, मिसाइललगायतबाट एकअर्काविरुद्ध आक्रमण भइरहेको छ। लेबनानमा राष्ट्रसंघीय शान्ति स्थापनार्थ ‘युनाइटेट नेसन्स इन्टेरिम फोर्स इन लेबनान’ (युनिफिल) मिसन अन्तर्गत विभिन्न देशका ९ हजार ५ सय ३२ जनाको फौज तैनाथ रहेकोमा नेपाली सेनाबाट मात्रै करीब ८ सय ५० जना सैनिक कार्यरत छन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार लेबनानको दक्षिण पश्चिम भाग मेइसेज जाबलमा युनिफिल मिसन अन्तर्गत नेपाली सेनाको गण हेडक्वार्टर तैनाथ छ। गण अन्तर्गत अरु ६ स्थानमा नेपाली शान्ति सैनिकका युनिट छन्।

सेनाका प्रवक्ता केसीले हिजबुल्लाह र इजरायलबीच एकअर्काविरुद्ध आक्रमणका विवरणहरु बाहिर आएलगत्तै नेपाली मिसनसँग नियमित सम्पर्क भइरहेको र हालसम्म्को अवस्था हेर्दा गण हेडक्वार्टर तथा मातहत इलाकाको अवस्था जोखिममुक्त रहेको बताए।

तर आक्रमणको असर मातहत इलाकामा पनि पर्न सक्ने जोखिमलाई मध्यनजर गरेर युनिफिल मिसन हेडक्वार्टरले पनि आवश्यक सजकता अपनाउन भनिसकेको र नेपाली सेनाका तर्फबाट पनि आफ्ना फौजलाई त्यसप्रति सतर्कता अपनाउन आग्रह गरिएको प्रवक्ता केसीले जानकारी दिए।

लेबनानमा सन् १९५५ देखि नेपाली सेना त्यहाँ शान्ति स्थापनार्थ खटिँदै आएको छ। १९७८ मार्च २३ देखि पल्टनका रुपमा सेनाको फौज निरन्तर तैनाथ छ।

लेबनानको हिजबुल्लाह समूहले आइतबार उत्तरी इजरायलमा सयौं मिसाइल प्रहार गरिसकेको छ। बेरुतमा हिजबुल्लाहका कमाण्डरको हत्यापछि त्यसको बदलामा हिजबुल्लाहले इजरायबिरुद्ध आक्रमण सुरु गरेको हो। हिजबुल्लाहको आक्रमणको बदलामा इजरायलले जेट विमानबाट पनि प्रत्याक्रमण गरिरहेको छ।

इजरायलले गत महिना बेरुतमा हिजबुल्लाहका कमाण्डर फुवाद शुक्रको हत्या गरेपछि त्यसको बदला लिन आइतबार इजरायलविरुद्ध सयौं रकेट र ड्रोन प्रक्षेपण गरेको छ। हिजबुल्लाहका ठूला आक्रमणलाई बिफल बनाइएको इजरायलले जनाएको छ।

दुईपक्षबाट एकअर्काबिरुद्ध आक्रमण जारी रहेका बेला शान्ति मिसन तैनाथ क्षेत्रमा यसको असर पर्ने जोखिमकाबीच नेपाली सेनाले हालसम्म मातहत इलाकाको अवस्था सामान्य रहेको स्पष्ट पारेको हो।

हिजबुल्लाहलाई लक्षित गरी इजरायलले दक्षिणी लेबनानमा प्रत्याक्रमण गरिरहेको छ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १६:१४
Weather Update