News Griha :: न्यूजगृह
नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा यात्रु बस दुर्घटना हुँदा १५ जना घाइते, २ को अवस्था गम्भीर

चितवन— नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए। घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ।

दुर्घटनापछि नारायणगढ–मुग्लिन सडक एकतर्फी सन्चालनमा छ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०८:५३
Weather Update