रामेछाप पहिरो अपडेट: २ को मृत्यु, केही बेपत्ता

काठमाडौं— रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ लेखर्क पहरीगाउँमा गएराति आएको पहिरोले ३ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको छ। केही व्यक्ति बेपत्ता छन्।
प्रहरीका अनुसार दोरम्बा गाउँपालिका वडा नम्बर ३ र २ को बीचमा रहेको अँधेरीखोलाको पक्की पुल पनि बगाएको छ।
मन्थलीबाट गएको टोली पुल बगाएकाले घटनास्थलमा पुग्न सकेको छैन। दोरम्बाबाट हिँडेको टोली केही समयमै घटनास्थलमा पुग्ने प्रहरी कार्यालयले जानकारी दिएको छ।
दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले पनि घटनास्थलतर्फ जाँदै छन्।
उनले भने, ‘गएराति आएको पहिरोले तीन वटा घर बगाएको र केही मानिस बेपत्ता भएको जानकारी मलाई प्राप्त भएको छ। पहिरोले पुल पनि बगाएको छ। हामी पनि घटनास्थलतर्फ जाँदैछौँ। केके भएको हो आधिकारिक विवरण पुगेपछि प्राप्त हुन्छ।’
विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१ ०७:२३