News Griha :: न्यूजगृह
महावीर पुनलाई समर्थन गर्न रवि लामिछाने माइतीघरमा

काठमाडौं— राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको जारी आन्दोलनमा समर्थन जनाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माइतीघर मण्डल पुगेका छन् । 

शुक्रबारदेखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रेका पुनको आन्दोलनमा समर्थन जनाउन लामिछाने माइतीघर मण्डल पुगेका हुन् । हिजो रातभर माइतीघर मण्डलमा सुतेर पुनले प्रदर्शन गरेका थिए ।

‘आफ्नो जायज माग पूरा गर्न, राज्यले सोच्नुपर्ने कुरालाई सम्बोधन गर्नका लागि सडकमा आएर आन्दोलन गर्नुपरेको छ, यो देशको एउटा सांसदको हिसाबले दुःखी छु, तपाईंको काम हामीले गर्नुपर्ने थियो, बेलैमा ठिक समयमा गर्न नसकेकोमा क्षमा चाहान्छु, हाम्रोतर्फबाट गर्नुपर्ने काम हामी गर्नेछौँ,’ नवनिर्वाचित सांसद लामिछानेले भने । 

mahabir-pun-rabi-lamichhane-maitighar-11682765540.jpg

आफ्नो माग सम्बोधन नभएसम्मका लागि माइतीघर मण्डलमा नै रहने पुनले जनाउँदै आएका छन् । हिजो रातभर उनी माइतीघर मण्डलको सडकमा सुतेका थिए । 

‘लु, हामी चाहिँ माइतीघर मण्डलाको सडकमा रातभर सुतेर उठ्यौँ, जनताहरू सुतिरहनुहोस र नेपाल सरकारलाई मज्जाले सुत्न दिइरहनुहोस्,’ पुनले शनिबार बिहान भने, ‘के त होला र ? केही चिन्ता छैन, हद्दै भए यही नेपाल ता जाला, पृथ्वी ता रहि रहन्छ नि,’ बिहानै पुनले भनेका थिए ।  

अविष्कार केन्द्रका प्रमुख पुन ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’को कार्य अघि बढाउनुपर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तीमा १ प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रेका हुन् ।

गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाएपछि आक्रोशित पुनः आन्दोलनमा होमिएका हुन् । 

‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारसँग तपाईंंको सन्तानको, तपाईंंको भावी सन्ततिको र मातृभूमिको भविष्य जोडिएको छ,’ आन्दोलनमा जानुअघि उनले भनेका थिए, ‘वैशाख १५ गते शुक्रबारदेखि माग पूरा नहुँदासम्म माइतीघर मण्डल र बबरमहल क्षेत्रबाट नेपाल सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्न सम्पूर्ण नेपालीहरूलाई आह्वान गर्दछु ।’ 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १६:३७
Weather Update