News Griha :: न्यूजगृह
माओवादी बैठक : जनपरिचालनको स्पष्ट कार्ययोजना बनाउन पार्टी नेतृत्वलाई सुझाव

काठमाडौं— पार्टीलाई जनमुखी बनाएर सङ्गठन विस्तार गर्नुपर्ने, एकीकृत कार्ययोजनाका साथ जनपरिचालनको योजना बनाउन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरूले पार्टी नेतृत्वलाई सुझाव दिएका छन्। 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा सहभागी भएका नेताहरूले सरकारमा रहँदा भए/गरेका सकारात्मक कामकारबाहीलाई लिएर जनतामा जानुपर्ने, सुशासन समृद्धिको योजनामा भएको प्रगतिका बारेमा आम रूपमा जानकारी गराउनुपर्ने धारणा राखेका थिए। 

पार्टीभित्र आन्तरिक एकतालाई सवल बनाउनुपर्ने, नेताहरू एकीकृत रूपमा परिचालित हुनुपर्ने तथा कुनै पनि विवाद र द्वेष राख्न नहुनेमा जोड दिँदै नेताहरूले वर्गतर्फ फर्कने वातावरण बनाउन नेतृत्वलाई आग्रह गरे। 

एकीकृत प्रयास गरिएको खण्डमा र विगतको गल्ती तथा कमजोरी स्वीकार गरेर अगाडि बढ्ने सङ्कल्प भए पार्टी पूर्ण रूपमा पुननिर्माण भएर प्रमुख शक्ति बन्न सक्ने उनीहरूको धारणा थियो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोही बैठकमा भएको छलफलका बारेमा आजै काठमाडौंमा भएको एक कार्यक्रममा मा बैठक फलदायी भएको जानकारी दिएका थिए। 

उनले आफूहरू लगातार बैठक र छलफलमा रहेको र पार्टीलाई थप सशक्त बनाउने दिशामा केन्द्रित रहेको बताएका थिए। 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  २१:१७
Weather Update