
काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनबाट फुटेर गएका सबै शक्ति एकै ठाउँमा आउने विश्वास व्यक्त गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सबै वामपन्थी एवम् समाजवादी र विगतमा फुटेर गएका माओवादी शक्तिहरू एक ठाउँमा आउनेगरी निरन्तर एकता वार्ता चलिराखेको बताए। उनले यसको परिणाम छिट्टै आउने दाबीसमेत गरे।
अध्यक्ष दाहालले पार्टीका सबै तह र तप्काले सार्थक प्रयास गरेमा २०६४ सालमा जस्तै माओवादीलाई पुनः जनमत प्राप्त हुने विश्वास व्यक्त गरे।
उनले २०६४ मा माओवादी पार्टीलाई मतदान गर्नेहरूको सूची र तिनका सन्ततिको विवरणसमेत तयार गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
‘हामी सबैले सार्थक प्रयास गरेमा माओवादीमा जनमत फेरि फर्काउन सकिने विश्वास छ। केन्द्रीय समितिको बैठकपछि देशभर नै पार्टीले अभियान सञ्चालन गर्ने र जनतालाई एकीकृत गरेर सबल पार्टी निर्माण गर्ने विश्वास दिलाउन चाहन्छु। आत्मविश्वासका साथ जनतामा गएर आत्मसमीक्षा गर्दा उल्लेखनीय परिणाम हासिल हुनेमा कुनै द्विविधा छैन, त्यसैले पार्टीको पक्षमा केन्द्रित भएर अभियान सञ्चालन गर्नसमेत आह्वान गर्दछु,’ अध्यक्ष दाहालले भने।
दाहालले आफू सरकारबाट बाहिरिँदा विजयी भावमा रहेको र हाल सरकारमा गएकाहरूमा त्यस्तो नभएको समेत टिप्पणी गरे। यसैगरी उनले समानुपातिक समावेशी मूल्य, मान्यतालाई कोही कसैले पनि हटाउन नसक्ने बरु त्यसलाई थप समृद्ध बनाइने बताए।