
कञ्चनपुर— भारत उत्तराखण्डको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु भएका तीनजनाको शव नेपाल ल्याइएको छ। शनिबार दिउँसो गड्डाचौकी नाका हुँदै उनीहरूको शव नेपाल घरतर्फ लगिएको हो।
पहिरोमा परी मृत्यु भएका चितवन माडीका तुलबहादुर परिवार, कृष्ण परियार र पूर्ण नेपालीको शव नेपाल ल्याइएको हो। उनीहरूको शव एउटै गाडीमा ल्याइएको छ।
‘आज रातिसम्म घरमा पुगेपछि भोलि अन्तिम संस्कार गरिनेछ,’ मृतक तुलबहादुरका भान्जा गोपाल परियारले भने, ‘हिजो नै बद्रीनाथबाट हिँडेका हौँ, बाटो खराब भएकाले धेरै समय लाग्यो।’ गोपालको परिवार र मृतक चारैजनासँगै काम गर्दै आएका थिए।
पहिरोमा परी मृत्यु भएका दैलेखका दीपक बुढाको भने केदारनाथ क्षेत्रमै अन्तिम संस्कार गरिएको गोपालले बताए। बिहीबार राति केदारनाथ नजिकै फाटा भन्ने ठाउँमा पहिरोमा परी ४ जना नेपाली कामदारको मृत्यु भएको थियो।
उनीहरु बस्दै गरेको सडक छेउको छाप्रो पहिरोले पुरेको थियो। मृतक चारै जनाको बद्रीनाथस्थित सरकारी अस्पतालमा पोष्टमार्टम गरिएको हो।













