
काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बैंक तथा वित्तीय संस्थालाई ‘नयाँ शोषक’को संज्ञा दिएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरूलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पार्ने थुप्रै कथाहरू रहेको मन्त्री किरातीको भनाइ छ ।
होटल एसोसिएसन अफ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले छोराछोरीहरूलाई मोबाइल किन्न लिएको ऋण तिर्नका लागि गाउँले आमाहरूको घरखेत उठेको र पछि चिन्ताले डोरीमा पासो लगाउने स्थिति बनेको पनि उल्लेख गरे ।
‘नयाँ शोषक आएको छ नि त कम्प्युटर बोकेर । महँगो ब्याज बोकेर, कम्प्युटर ठोकेर । पहिला त दौरासुरुवाल लगाएर जुँगामा ताउ लगाउँदै तमसुक बोकेर आउथे शोसक । अहिले त कम्प्युटर बोकेर पो आउँछ । गाउँगाउँ पुगेको छ वित्तीय संस्थाहरू । आमाहरूलाई राखेर ऋण दिन्छ,’ उनले भने, ‘विचरा आमालाई छोराछोरीहरूले मोबाइल माग्छ । अनि, जमानी बसेर ऋण लिएर मोबाइल किनिदिन्छ । अर्को महिनादेखि तिर्नुपर्छ आयस्रोत छैन । अर्को महिनादेखि बाख्रा तानिन्छ । गाई तानिन्छ । थाल बोटुको टिपिन्छ । आमा चिन्ताले खोलामा गएर डोरी लगाएर पासो लाग्छ । यो कथा धेरै छ गाउँमा । सहरमा ब्याज छ । घटाउन सक्ने स्थिति पनि छैन ।’
मन्त्री किरातीले प्रकृति र संस्कृतिलाई जोगाउने खालको विकास नीतिको आवश्यकता पनि औँल्याए । उनले होटल व्यवसाय पर्यटनको मेरुदण्ड भएको उल्लेख गर्दै त्यस क्षेत्रको विकासमा सरकारले सकेको सहयोग गर्ने आश्वासनसमेत दिए ।













