News Griha :: न्यूजगृह
गृह मन्त्रालयद्वारा भारतीय राज्यमन्त्रीलाई बस दुर्घटनाबारे ब्रिफिङ
गृहमन्त्री रमेश लेखक (दायाँ) र भारतीय राज्यमन्त्री रक्षा खड्से (बायाँ)। तस्बिर :गृहमन्त्रीको सचिवालय। 

काठमाडौं— २७ जना भारतीय नागरिकको ज्यान जाने गरी भएको बस दुर्घटनाको विषयमा शनिबार गृह मन्त्रालयले भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई ब्रिफिङ गरेको छ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा शनिबार बिहान गृहमन्त्री रमेश लेखकले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाबाट भएको क्षति, उद्दार तथा घाइतेहरुको उपचारबारे भारतीय राज्यमन्त्री खड्सेलाई जानकारी गराएका हुन्।

Raksha-Khadse_ramesh_lekhak_1-1724489027.jpgशुक्रबार पोखराबाट काठमाडौंतर्फ आइरहेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु र १६ जना घाइते भएका थिए।

गृहमन्त्री लेखक र भारतीय राज्य मन्त्री खड्सेले त्रिवि शिक्षण अस्पतालमा पुगेर घाइतेहरूको अवस्था बारेमा समेत जानकारी लिएका थिए। त्यसपछि मन्त्रालयमा आयोजित सङ्क्षिप्त कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले दुखद घटना भएको बताए। उनले मृतकका आफन्तलाई समवेदना व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना समेत व्यक्त गरे।

'घाइतेहरुको उपचारका कुनै कसर बाँकी राख्दैनौ,' मन्त्री लेखकले भने, 'घटना लगत्तै सुरक्षा निकाय र स्थानीय प्रशासन उद्दारमा खटिएको थियो।' त्यसैगरी भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री खड्सेले दुर्घटनापछि नेपाल सरकारबाट उद्दारदेखि उपचारसम्म भएको कुशल व्यवस्थापनप्रति आभार प्रकट गरिन्। उनले घाइतेहरूको उपचारमा चिकित्सकहरूले देखाएको सक्रियताको प्रशंसा गरिन्।

ramesh_lekhak_90-1724489026.jpg
गृहमन्त्री रमेश लेखक

'दुर्घटना परी केही मेरै आफन्तको पनि मृत्यु भएको छ,' उनले भनिन्, 'उद्दारमा खटिने सम्पूर्ण सुरक्षाकर्मी र स्वास्थ्यकर्मी लगायत सबैलाई धन्यवाद।'

गृह मन्त्रालयका अनुसार घाइते मध्ये तीन जनाको आईसीयूमा र अन्यको सामान्य कक्षमा उपचार भइरहेको छ। उनीहरुकाे अवस्था सुधारोन्मुख छ। शुक्रबार घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।

Raksha-Khadse_kathmandu-1724489026.jpg
भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से

सो बसमा ४३ जना यात्रु सवार थिए। त्यसैगरी मृतकहरूको चितवनको भरतपुर अस्पतालमा शव परीक्षण भइरहेको छ। गृहमन्त्री लेखकसँगको भेटपछि भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री खड्से चितवनस्थित भरतपुर अस्पताल जाने कार्यक्रम तय भएको छ।

शव परीक्षणपछि भारतीय पक्षको जिम्मा लगाउने र भारतीय पक्षले विमानबाट शव भारत लैजाने तयारी गरिरहेको छ।

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १४:३१
Weather Update