News Griha :: न्यूजगृह
रवि लामिछानेसँग शनिबार बिहान एक बजेसम्म बयान, ९ घण्टामा ५१ प्रश्न

काठमाडौं— सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग शनिबार बिहान १ बजेसम्म बयान लिएको छ।

समितिको कार्यालय सिंहदरबारमा अपरान्ह साढे ४ बजेदेखि सुरु भएको बयान शनिबार बिहान १ बजेसम्म चलेको समितका सभापति सूर्य थापाले जानकारी दिएका छन्।

तत्कालीन गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतले ९ घण्टासम्म लिइएको बयानमा लामिछानेले ५१ वटा प्रश्नको जवाफ दिएका छन्। 

समितिका सदस्यले विभिन्न सहकारीबाट गोर्खा मिडियामा आएको रकम र तत्कालीन प्रबन्ध निर्देशकका रूपमा लामिछानेका दायित्वका विषयमा ५१ प्रश्न सोधेका छन्। जसमध्ये तथ्य र प्रमाणसहित सोधिएका कतिपय प्रश्न स्वीकार गरेपनि लामिछानेले अधिकांश प्रश्नमा उनी थाहा छैन, थाहा भएन, मेरो संलग्नता छैन, जीबी राईलाई थाहा होला भन्ने जस्ता जवाफ दिएका थिए। 

लामिछानेले आफू प्रबन्ध निर्देशक हुँदा कार्यक्रम सञ्चालन र उत्पादनमा मात्रै केन्द्रित भएको र कम्पनीको आर्थिक विषयमा जानकारी नरहेको समितिलाई बताएका छन्। 

यसअघि समितिले शुक्रबार नै गोरखा मिडिया नेटवर्कका संस्थापकमध्येका एक छविलाल जोशीसँग सोधपुछ गरेको थियो। 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०९:३९
Weather Update