News Griha :: न्यूजगृह
भीरबाट खसेको ढुंगा लागेर मुग्लिन–नारायणगढ खण्डमा बस पल्टियो

काठमाडौं— चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना भएको छ।

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि आज दिउँसो १:५० बजेतिर ढुंगा खसेको थियो। त्यसपछि चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन्।

उनका अनुसार दुर्घटनामा ११ जना यात्रु घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरमा पठाइएको छ। उनीहरु सबैको अवस्था सामान्य छ।

यसअघि मुग्लिन–नारायणगढ सडकखण्डमा निजी कार र सार्वजनिक माइक्रो बसमा पनि ढुंगा खसेर लागेको थियो।

गत असार २८ गते यात्रुबसमाथि खसेको ढुंगा लागेर चालकको मृत्यु भएको थियो भने सिमलताल भन्ने स्थानमा पहिरोले दुईवटा बसलाई त्रिशूली नदीमा बेपत्ता पारेको थियो।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १५:४०
Weather Update