News Griha :: न्यूजगृह
मर्स्याङ्दी बस दुर्घटना: १५ यात्रु अचेत [अपडेट]

काठमाडौं— तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा खसेको भारतीय बसका यात्रुमध्ये १५ जना अचेत अवस्थामा रहेको गृहमन्त्रालयले जनाएको छ।

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख डा भीष्मकुमार भुसालले १५ जना अचेत अवस्थामा रहेको जिल्लाबाट जानकारी आएको बताए।

शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आँबुखैरेनी ऐनापहारा भन्ने ठाउँबाट मर्स्याङ्दी मा खसेको थियो।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो।

घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल दमौलीमा पुर्‍याइएको छ।

डा भुसालका अनुसार थप उपचारका लागि काठमाडौं ल्याउनु परे हेलिकप्टरसमेत तयारी राखिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अहिलेसम्म २९ जनाको उद्धार भएको छ। बसमा ४० यात्रु रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १३:०७
Weather Update