News Griha :: न्यूजगृह
१९ वर्षकी जीप चालक छेकी शेर्पा, बहिनीलाई डाक्टर बनाउने सपना

इलाम— छेकी शेर्पा १९ वर्षकी भइन्। उनी इलामको कच्ची सडकमा सवारी चलाउछिन्। साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर जीपमा यात्रु बोक्ने काम गर्दै आएकी छन्।

त्यसो त सवारी चलाउने महिला नभएका हैनन्। तर पहाडी जिल्लाको कच्ची बाटोमा सार्वजनिक यातायातको साधन चलाउने महिलाको सङ्ख्या नगण्य छ। यात्रुसहितको सवारी चलाउने उनी इलाम जिल्लाको मात्र नभई पूर्वी पहाडीकै एकमात्र किशोरी हुन्।

पहाडको कच्ची सडकमा खोलानाला र भिरालो सडकमा गाडी चलाउन जो कोहीले हिम्मत गर्दैनन्। घरपरिवारले गाडी खरिद गरिदिएपछि छेकीले गाडी चलाउन थालेकी हुन्। बोलेरो डबल क्यापको जीपमा यात्रु र भारीसहित उनी बिहान इलाम सन्दकपुरको जमुनास्थित सिस्नेबाट इलाम सदरमुकाम जान्छिन्। दिउँसो सदरमुकाम तथा बिब्ल्याँटेबाट जमुना फिर्ने गर्छिन्।

छेकीको बुवा पहिलेदेखि सवारी चालकको काम गर्थे। घरमा तीन छोरी भएका कारण बुवाकै सहयोगमा चालक बनेको उनी बताउँछिन्। सुरुमा बुवाले नजिकैको दूरीमा गाडी चलाउन सिकाएपछि उनले विस्तारै राम्रोसँग चलाउन थालिन्। छोरीले राम्रोसँग गाडी चलाउन जानेपछि छोरीलाई चलाउन दिएको फुर्वा शेर्पाले बताए।

‘मलाई बुवाले नै गाडी चलाउन सहयोग गर्नुभएको छ। परिवारको साथ पाएरै म राम्रोसँग गाडी चलाउन सक्ने र यही पेसा गर्नसक्ने भएकी छु,’ छेकीले भनिन्।

छेकीले गाडी चलाउँदा केही यात्रुहरूले सुरुमा विश्वास गर्दैनथे। उनले चलाएको गाडीमा चढ्नै मान्दैनथे। तर, हिजोआज यात्रुहरुले छेकीमाथि यति विश्वास गर्न थाले कि उनले चलाएको गाडी खोजी खोजी चढ्न थालेका छन्।

कक्षा १२ सम्म अध्ययन गरेकी छेकीले पढ्दै गरेको समयमा पनि गाउँमा गाडी कुदाएको स्थानीयको भनाइ छ। उनले गाडी चलाएरै बहिनीलाई डाक्टर बनाउने सपना देखेकी छन्।

‘दाजुभाइ नहुँदा सानैदेखि हामीले छोरा र छोरी दुवैको काम गर्दै आएका छौँ,’ उनले भनिन्। रोजगारीको खोजीमा धेरै नेपाली महिला विदेशिने गरेका छन्। तर महिलाले गाउँमै सवारीचालकको काम पनि गर्न सकिने काम रहेछ भनेर उदाहरण दिएकी छन् छेकीले।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १२:३४
Weather Update