
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूरक महामन्त्री डा मुकुल ढकालले आफूले पार्टीमा पेस गरेको प्रतिवेदनको अपनत्व नलिने बताएपनि सो प्रतिवेदनमा उल्लेख गरिएका कार्यक्रम भने कार्यान्वयनको प्रयास गरेको टिप्पणी गरेका छन्।
ढकालले आफूले प्रतिवेदनमा आत्मनिर्भर नेपाल अभियान चलाउने उल्लेख गरेको बताउँदै रवि लामिछाने क्लबले प्रतिवेदनको अपनत्व नलिने निर्णय गरे पनि आफूले प्रस्ताव गरेको आत्मनिर्भर नेपाल अभियान शुरु गरेको बताएका हुन्।
ढकालले पार्टी एलिटको कब्जामा गएको बताएको थिए भन्दै एलिटहरूले आम जनताको अनुभव लिन सार्वजनिक यातायात चढेको व्यङ्ग्य गरेका छन्।
उनले भनेका छन्, 'अब ठ्याक्कै के कसरी गर्ने भन्ने त थाहा छैन, तर जति पढे, त्यो बुझे, टाइपले यी प्रयास गर्दै छन्। प्रतिवेदनलाई गलत पनि भन्नु छ। आफूले एक्स्ट्रा आइडिया केही निकाल्न नि सक्दैनन्। त्यही प्रतिवेदन घुमाइफिराई कार्यान्वयनको प्रयास पनि गर्नु छ। त्यही प्रतिवेदन लेख्ने महामन्त्रीलाई कारवाहीको प्रयास पनि गर्नुछ। उहाँहरूलाई पनि गाह्रो छ। टीभीमा हेरेर घरमा नै खाना बनाउनुस् ठिकै हो, क्लब त पूरै रेस्टुरेन्ट खोल्न लाग्यो।'
यसअघि रास्वपाले ढकाललाई पार्टीको महामन्त्री र प्रवक्ताबाट हटाए पनि अब साधारण सदस्यबाट समेत हटाउने तयारी गरिरहेको छ।