News Griha :: न्यूजगृह
यी हुन् सरकारले टिकटकसँग राखेका चार सर्त

काठमाडौं— सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले करिब एक वर्षदेखि बन्द रहेको सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले हालै पारित गरेको सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना र अन्य चार सर्तसहित टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला गरिएको बताए।

निर्देशिका सबै सामाजिक सञ्जालका लागि लागू हुने र टिकटकले उक्त निर्देशिका बाहेक पनि चार सर्तहरू पूरा गर्नुपर्ने मन्त्री गुरुङको भनाइ छ।

उनका अनुसार टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने सर्त राखिएको छ।

‘हामीले यी सर्तहरू राख्दा टिकटकले स्वीकार गर्ने भएपछि अहिलेलाई नीतिगत रुपमा टिकटक खुला गरेका छौँ,’ उनले भने। सामाजिक सद्भाव भड्काएको भन्दै २०८० असोज २७ गते तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाएको थियो।

मन्त्री गुरुङका अनुसार अब टिकटकमात्र नभई सबै सामाजिक सञ्जालले सामाजिक सद्भाव भड्काउने गरी कुनै पनि पोष्ट र सामाग्री प्रसार गर्न पाउने छैनन्।

‘सरकारले जारी गरेको जुन निर्देशिका छ, त्यसमा उल्लेखित नियम सबै सामाजिक सञ्जालले मान्नुपर्छ। कुनै पनि सामाजिक सञ्जालले समाजलाई असर पर्ने गरी कार्य गर्न पाउँदैनन्,’ उनले भने।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  २१:०३
Weather Update