News Griha :: न्यूजगृह
प्रधानमन्त्री ओली असोज पहिलो साता अमेरिका जाँदै
फाइल तस्बिर।

काठमाडौं— थाइल्याण्ड भ्रमण अनिश्चित बनिरहेका बेला राष्ट्रसङ्घीय महासभाका लागि प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्क (अमेरिका) जाने भने पक्कापक्की भएको छ।

महासभाकै क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घले यस वर्ष आयोजना गर्न लागेको ‘समिट अफ द फ्युचर’ मा सम्बोधन गर्ने टुङ्गो समेत लागेको छ।

‘समिट अफ द फ्युचर’ असोज ६–७ (सेप्टेम्बर २२–२३ ) मा हुनेछ। समिटमा विभिन्न मुलुकमा राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरू सहभागी हुनेछन्। 

सो समिटमा ‘प्याक्ट फर द फ्युचर’, ‘डिक्लेरेसन अन फ्युचर जेनेरेसन’ गरी दुई महत्त्वपूर्ण दस्तावेज जारी हुनेछन्। यसमध्ये ‘प्याक्ट फर द फ्युचर’ अन्तर्गत पनि ८० बुँदे र ६३ बुँदे दुई दस्तावेज पेस गरिनेछन्। ‘डिक्लेरेसन अन फ्युचर जेनेरेसन’ अन्तर्गत करिब ४० बुँदे दस्तावेज पेस हुने बताइएको छ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा रहने नेपाली प्रतिनिधिमण्डल १९ सदस्यीय हुनेछ। प्रतिनिधिमण्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, परराष्ट्र सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घ महाशाखा प्रमुख अमृतबहादुर राई, न्यूयोर्कस्थित नेपालको संयुक्त राष्ट्रसङ्घीय नियोगका प्रमुख लोकबहादुर थापा लगायत तय भएका छन्।

‘समिट अफ द फ्युचर’ को समापन लगत्तै असोज ८–१० (सेप्टेम्बर २३–२६) मा विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूले सम्बोधन गर्नेछन्। 
महासभामा नेपालको तर्फबाट प्रधानमन्त्री ओलीले असोज १० मा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

न्यूयोर्क भ्रमणका लागि प्रधानमन्त्री ओली असोज ४ मा काठमाडौंबाट प्रस्थान गर्नेछन् र महासभामा सम्बोधन लगत्तै नेपाल फर्कनेछन्। 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १७:०३
Weather Update