News Griha :: न्यूजगृह
पाँच वर्षे हदम्याद स्वीकार्य छैन : महामन्त्री शर्मा
फाइल तस्बिर ।

काठमाडौं— सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने सरकारको प्रस्ताव स्वीकार्य नहुने बताएका छन् ।

सरकारले संसदमा पेस गरेको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा प्रस्ताव गरिएको सो पाँच वर्षे हदम्याद आफूहरूलाई स्वीकार्य नहुने उनको भनाइ छ । 

नेपाल विद्यालय कर्मचारी परिषद्ले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा उनले सो प्रस्ताव सिङ्गै देशलाई मान्य नहुने पनि बताए । ‘पाँच वर्षे हदम्याद जो राखिने कुरा गरिएको छ । यो हामीलाई स्वीकार्य छैन । यो देशले स्वीकार गर्दैन । कडिकडाउका साथ यसमा जानु पर्छ राज्य,’ उनले भने । 

उनले भ्रष्टाचारीलाई कडा भन्दा कडा ढङ्गले कानुनी र आर्थिक कारबाही गर्न पनि सरकारलाई सचेत गराए । 

‘भ्रष्टाचार गरेको मान्छेले पाँच वर्ष सजायको घेरामा पर्ने नाममा उन्मुक्ति पाउनुपर्ने । राख्ने नै हो भने हदम्याद २५ वर्षको राखौँ,’ उनले भने, ‘तर, कडिकडाउसँग भ्रष्टाचार गरेको मान्छेलाई कठघरामा ल्याएर उसलाई कानुनी कारबाही देखि आर्थिक कारबाहीसम्म राज्यले गर्नुपर्छ ।’ 

महामन्त्री शर्माले भौतिक पूर्वाधारको विकासमा भन्दा पनि मानव संशाधनको विकासमा जोड दिन सरकारलाई सुझाव दिए । उनले मुलुकको शैक्षिक क्षेत्रको विकासका लागि सरकारले लगानी बढाउनुपर्ने आवश्यकता पनि औँल्याए । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १५:०३
Weather Update