News Griha :: न्यूजगृह
सुनको सिक्री लुटपाटमा संलग्न तीन जना पक्राउ

काठमाडौं— काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्ने ५० वर्षीया कमला गौतमको एक तोलाको सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा तीनजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका–९ घर भई बनेपा बस्ने ३८ वर्षीय अनिलकुमार तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ घर भई ललितपुर ग्वार्को बस्ने ३४ वर्षीय गणेश लामा र काभ्रेको बेथानचोक गाउँपालिका–६ घर भई काठमाडौं गौशाला बस्ने ३१ वर्षीय सुरेश तामाङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। 

उनले भने, 'कमला गौतमले घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री गत साउन २१ गते बिहान लोकन्थलीको बसस्टपमा अपरिचित व्यक्तिले लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानका क्रममा हाम्रो टोली र अपराध शाखा ठिमी भक्तपुरबाट खटिएको प्रहरीले निज तीनजनालाई भक्तपुरको कौशलटारबाट पक्राउ गरेको हो।'

पक्राउ परेका अनिलकुमारमाथि यसअघि २०७१ जेठ १ गते प्रहरी वृत्त गौशालाबाट, गणेशमाथि प्रहरी वृत्त नयाँ बानेश्वरबाट तीनपटक र सुरेशमाथि प्रहरी वृत्त बौद्धबाट एकपटक तथा प्रहरी वृत्त गौशालाबाट तीनपटक अभद्र व्यवहार मुद्दा चलेको खुल्न आएको सूचना अधिकारी आचार्यले बताए। 

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त ठिमी, भक्तपुर पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १४:५४
Weather Update