News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको कार्यक्षमतामा रास्वपा सांसद श्रेष्ठले उठाइन् प्रश्न

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले त्रिविमा सत्तारुढ दलका कार्यकर्ताहरूको त्रासले पदाधिकारी कार्यकक्षमा जान नसक्ने अवस्थाको कारक प्रधानमन्त्री केपी शर्मा ओली भएको बताएकी छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद श्रेष्ठले प्रधानमन्त्री ओलीको कार्यक्षमतामा प्रश्न उठेको बताएकी छन्। 

पछिल्लो समय प्रधानमन्त्री ओलीले शिक्षक र प्राध्यापकले राजनीति गर्न पाउनुपर्ने अभिव्यक्ति दिँदै आएका थिए भने त्यस्तो गर्न नहुने भनेर शिक्षामन्त्री हुँदा श्रेष्ठले लिएको अडानको आलोचना गरेका थिए। सांसद श्रेष्ठले भने त्यसरी शिक्षालयमा राजनीति हुनुपर्छ भन्नेका सेनापति भएर ओली निस्किएको बताइन्।

'शिक्षालयमा दल चाहिन्छ भनेर सेनापतिका रूपमा बोल्दै हिँड्ने, दलगत हुनुपर्छ राजनीति चाहिन्छ, शिक्षक/प्राध्यापकहरूले राजनीति गर्नुपर्छ भन्ने सेनापति को हुनुहुन्छ ? अहिलेका प्रधानमन्त्री,' श्रेष्ठले भनिन्, 'जरोमा पनि उही, टुप्पोमा पनि उही। यसमा प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण के छ?'

त्रिवि लगायतका विश्वविद्यालय र स्कुल/कलेजमा राजनीति घुसाउँदाको परिणाम शिक्षामन्त्रीले गृहमन्त्रीलाई विश्वविद्यालयका पदाधिकारीको सुरक्षा गरिदिनु भनेर सामाजिक सञ्जालमा लेख्नुपर्ने अवस्था आएको श्रेष्ठले बताइन्।

'विभागीय प्रमुखको पदका लागि यो दलीय राजनीतिकरणले देखाएको, निम्त्याएको दुर्दशा हो। यो त्यतिमा मात्रै सीमित रहँदैन। विवाद भएका विश्वविद्यालयका कुलपति प्रधानमन्त्री, एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा जोडदार माग गर्नुपर्ने त्यो मन्त्रिपरिषद्को कप्तान को? प्रधानमन्त्री, दलीय राजनीतिले जर्जर बनाएको प्राध्यापक, विद्यार्थीको संगठनको दिशा दिन्छु भनेर हाँक्ने को प्रधानमन्त्री' श्रेष्ठले भनिन्।

एमालेको विद्यार्थी संगठनका नेताले सरस्वती क्याम्पसमा चिट चोराउन नदिएको भन्दै परीक्षा नियन्त्रकलाई कुटेको पनि श्रेष्ठले बताएकी छन्।

प्रधानमन्त्री ओलीले युवाहरूलाई स्वदेशमा नै बस्ने व्यवस्था बनाउनुपर्ने भनी अभिव्यक्ति दिइरहेको तर व्यवहारमा शिक्षा क्षेत्रमा राजनीति घुसाएको र त्यहाँ गुन्डागर्दी गर्ने आफ्ना कार्यकर्ताहरूलाई संरक्षण गरिरहेको श्रेष्ठको भनाइ थियो।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १४:२१
Weather Update