
धनुषा— गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले मुलुकमा शान्ति, सुव्यवस्था र विधिको शासन कायम गर्ने बताएका छन्।
बिहीबार बिहान जनकपुर विमानस्थलमा पत्रकारहरूसँग मन्त्री लेखकले सुशासन, दिगो शान्ति, विकास र समृद्धि प्राप्त गर्ने कुरामा सरकार अघि बढिरहेको बताएका हुन्।
‘यो सरकार डेलिभरी दिनका लागि बनेको हो, डेलिभरी हुन्छ, मुलुकमा शान्ति, सुव्यवस्था, विधिको शासन कायम हुन्छ,’ उनले भने।
नेपाल प्रहरी ऐन २०१२ मा आवश्यक संशोधन गर्ने, परिमार्जन गर्ने र कानुन नै नयाँ बनाउने गरी गृहमन्त्रालयबाट प्रक्रिया अघि बढाइएको जानकारी पनि उनले दिए।
‘मैले मन्त्रालयबाट निर्णय गरेर अगाडि बढाइसक्या छु। त्यो अर्थ मन्त्रालयमा गाको छ,’ मन्त्री लेखकले भने, ‘विभिन्न मन्त्रालयहरूको सहमति पछि त्यो संसद्मा जान्छ।’
उनले प्रहरी सम्बन्धी संघका ऐनहरूमा संशोधन/परिमार्जन गरेर प्रहरी समायोजन र प्रदेश प्रहरी गठन हुने उनले बताए।
प्रहरी समायोजन प्रक्रियाले चाँडै अन्तिम रूप पाउने बताउँदै उनले मधेश प्रदेशको आफ्नै प्रहरी बल स्थापित हुने कुरामा विश्वस्त हुन आग्रह गरे।