News Griha :: न्यूजगृह
पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द

तनहुँ— घाँसीकुवामा बुधबार साँझ पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।

तनहुँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनार्दन गौतमका अनुसार घाँसीकुवामा करिब १५० मिटर माथिबाट ढिस्को खस्दा राजमार्ग बन्द भएको हो।

‘अहिले पनि फुसफुस पहिरो खसिराखेको छ, तत्काल पन्छाउन सकिने अवस्था छैन,' उनले भने, 'भोलि बिहानबाट मात्र पहिरो पन्छाउने तयारी गरिएको छ।’ 

राजमार्गमा ठूलो पहिरो खसेकाले तत्काल खुलाउन सक्ने अवस्था नरहेको उनले बताए। पहिरो खसेसँगै पृथ्वी राजमार्गमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

पहिरो गएको ठाउँ नजिकैबाट सानो गाडी जाने वैकल्पिक मार्ग भए पनि ठूला गाडी उक्त बाटो गुड्न नसक्ने उनले बताए।

ठूला गाडीलाई तनहुँको डुम्रेबाट लमजुङको सुन्दरबजार, दुइपिप्ले हुँदै पोखरा जान लगाइएको छ। पोखराबाट छुट्ने गाडीलाई पनि सोही मार्ग प्रयोग गर्न आग्रह गरिएको सिडिओ गौतमले बताए।

पृथ्वी राजमार्ग फराकिलो बनाउने ठेक्का पाएको चिनियाँ कम्पनीलाई भोलि बिहानैदेखि पहिरो पन्छाउन निर्देशन दिएको पनि उनले बताए।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  २१:४९
Weather Update