
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा बयान दिन जाने भएका छन्।
बुधबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले आफूलाई भदौ सात गतेको बैठकमा बोलाएको भन्दै उक्त मितिमा बयान दिन जान लागेको बताएका हुन्।
‘समितिले मलाई भदौ ७ गते बोलाएको छ। म त्यहाँ जान्छु,’ लामिछानेले बैठकमा गराएको जानकारी उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘गएर आफ्ना कुराहरू म ढुक्कसाथ राख्छु।’
पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने सहकारीको रकम हिनामिनामा संलग्न भएको आरोप छ। यसैगरी रास्वपाले महामन्त्री मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरणका लागि मौका दिएको छ। उनलाई यसअघि रास्वपाले साधारण सदस्यबाहेक अन्य पदीय जिम्मेवारीबाट मुक्त गरेको थियो।
बुधबारकै बैठकले स्थानीय तहको आसन्न उपनिर्वाचन भाग लिने निर्णय पनि गरेको छ। साथै बैठकले बन्द कार्यशालाबाट सिफारिस भएअनुसार पार्टीको पहिलो राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।
रास्वपाले भदौ १५ गते कर्णालीमा प्रदेश भेला गर्ने भएको छ। भदौ महिनाभित्र सातै प्रदेशमा सङ्क्षिप्त प्रशिक्षण स्वरूप पार्टी सभापतिको उपस्थितिमा विस्तारित छलफलहरू आयोजना गर्ने पनि सो पार्टीले जनाएको छ।
असोज ३ गते संविधान दिवसका दिन संविधान संशोधनसँग सम्बन्धित नीति मन्थन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जनाएका छन्।
यसबाहेक सो पार्टीले भ्रष्टाचार मुद्दाको हदम्याद, सरकारबाट शिक्षालगायतका क्षेत्रमा भएको राजनीतिकरणको निरन्तरता, असमावेशी मन्त्रिपरिषद् र स्वार्थ बाझिने गरी मन्त्री नियुक्ति, डेडिकेटेड एवं ट्रङ्क लाइन विद्युतको महसुल उठाउन गरिएको आनाकानी र नीतिगत भ्रष्टाचारका सन्दर्भमा सदनमा सशक्त आवाज उठाउने भएको छ।