
काठमाडौं— नागढुंगाबाट ७ सय मिटर तल नौबिसेखण्डतर्फ पहिरो खस्दा काठमाडौं भित्रिने र बहिरिने सवारिसाधन ठप्प भएको छ।
लेदोसहितको पहिरो खस्दा सफा गर्न समस्या भएको छ। बिहान १० बजे पहिरो खसेको हो। पटकपटक पहिरो पन्छाए पनि पानी पर्ने क्रम नरोकिँदा समस्या भएको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख ईश्वरबहादुर रिजालले बताए।
‘पानी परेको पर्यै छ, पहिरो हटाए पनि बगेर लेदो झरिरहेको छ,’ उनले भने, ‘पानी परिरहेकाले सडक खुलाउनै सकिएको छैन।’ पानी नरोकिँदा समस्या भएको उनको भनाइ छ।
‘नागढुंगा ओरालो लाग्दा नजिकै नाग मन्दिर छ, त्यही नजिक पहिरो खसेको हो, अहिले दुईतर्फी नै सडक बन्द छ,’ उनले भने, ‘सफा गर्न प्राविधिकसहितको मेसिन तैनाथ अवस्थामा छन्, पहिरो पन्छायो कि झन् माथिबाट लेदो बग्ने मात्र भइरहेको छ।’
पहिला यस्तो पहिरोको समस्या नभएको उनको भनाइ छ। ‘उत्तिस उम्रिरहेको ठाउँ हो, गत वर्ष एउटा रूख लडेको थियो,’ उनले भने, ‘यो पटक पहिरो नै खस्यो।’
पहिरो ठूलो रहेको उनले बताए। अहिले दुईतर्फी नै सवारीसाधनको लाम लागेको छ। सयौं सवारीसाधनबीच सडकमै रोकिएका छन्। हजारौं यात्रु अलपत्र परेका छन्। सवारिसाधन व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ।