News Griha :: न्यूजगृह
कैलालीका सयभन्दा बढी घर डुबानमा
फाइल तस्बिर।

कैलाली— अविरल वर्षाका कारण कैलालीका केही बस्ती जलमग्न भएका छन्। 

कैलालीको कैलारी गाउँपालिकामा सयभन्दा बढी घरधुरी डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

उनका अनुसार कैलारी गाउँपालिका–५, को बस्ती डुबानमा पर्दा उद्धार गरेर १० जनालाई वडा कार्यालयमा राखिएको छ।

घरभित्र पानी पसेपछि त्यहाँका एक सय १६ परिवार प्रभावित भएका छन्।

‘घरभित्र पानी पसेर अहिले त्यहाँका मान्छे माथिल्लो तलामा बसेका छन्, अहिले घाम लागेकाले बिस्तारै पानी सुकिरहेको छ,’ सूचना अधिकारी जोशीले भने।

कैलालीको गौरीगङ्गा नगरपालिकाका विभिन्न ठाउँ पनि डुबानमा परेका छन्। डुबानले विस्थापित त्यहाँका ४ जना आफन्तकहाँ आश्रय लिएर बसेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा बाढीले ३–४ बिगाहा जमिन बगाएको छ।

अविरल वर्षाले राति यहाँका नदी तथा खोलामा पानीको सतह बढेको थियो।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १६:२२
Weather Update