काठमाडौंं— विश्वकै बढी उमेरकी महिलाको मङ्गलबार निधन भएको छ। अमेरिकामा जन्मिएकी मारिया ब्रानयास मोरेराको ११७ वर्षको उमेरमा निधन भएको हो।
सीएनएनका अनुसार गिनिज वर्ल्ड रेकर्ड्स (जीडब्लूआर) ले विज्ञप्ति जारी गर्दै मोरेराको ११७ वर्ष १६८ दिनको उमेरमा निधन भएको जनाएको छ।
जीडब्लूआरका अनुसार उनी विश्वमा सबैभन्दा लामो समय बाँच्नै आठौँ व्यक्ति हुन्। २०२३ को जनवरीमा विश्वकै सबैभन्दा बढी उमेरकी ११८ वर्षीया सिस्टर आन्द्रेको निधनपछि मोरेरा विश्वकै सबैभन्दा बढी उमेरकी घोषित भएकी थिइन् ।
मोरेराको जन्म उनको परिवार स्पेनबाट अमेरिका बसाइं सरेको एक वर्षपछि १९०७ मार्च ४ मा भएको थियो। त्यसको ८ वर्षपछि उनको परिवार स्पेनको बार्सिलोना फर्केको थियो।
पछिल्लो समय भने उनी स्पेनको क्याटालोनियामा बस्दै आएका थिइन्। उनी कोभिड १९ को सङ्क्रमणबाट निको हुने सबैभन्दा बढी उमेरकी मानिससमेत हुन्।