काठमाडौं— भारतका चर्चित सन्त पाइलट बाबाको निधन भएको छ। भारतीय मिडियाका अनुसार जुना अखडाका महामंडलेश्वर पायलट बाबा लामो समयदेखि बिरामी थिए। उनको दिल्लीको एपोलो अस्पतालमा निधन भएको हो।
उनलाई हरिद्वारमा समाधि लगाइने बताइएको छ। उनी भारतीय वायुसेनामा विंग कमान्डर थिए, त्यसैले उनलाई पाइलट बाबाको नामले प्रसिद्धि मिलेको थियो। उनले पाकिस्तानसँगको दुई युद्धमा फाइटर पाइलटको भूमिका खेलेपछि सन्यास लिएका थिए।
पायलट बाबाको महासमाधीको जानकारी उनको इन्स्टा एकाउन्टमार्फत आएको हो।
इन्स्टाग्राममा लेखिएको छ- 'ओम नमो नारायण, हार्दिक श्रद्धाञ्जलीका साथ हाम्रा प्यारा गुरुदेवप्रति विश्वभरका सम्पूर्ण शिष्य, भक्तजनहरूमा हाम्रो पूज्य गुरुदेव महायोगी पाइलट बाबाजीले आज महासमाधी लिनुभएको छ। उहाँले आफ्नो नश्वर शरीर त्याग्नु भएको छ। यो हामी सबैको घरमा बसेर प्रार्थना गर्ने समय हो। कृपया यसलाई सहज रूपमा लिनुहोस्। यो समय शान्त रहन र उहाँप्रति कृतज्ञता व्यक्त गर्ने समय हो। थप जानकारी साझा गरिनेछ।'