इलाम— सूर्योदय नगरपालिका–१२ का रमेस गड्तौलाले यस वर्ष पाँच रोपनी जग्गामा काँक्रोखेती गरे।
‘याम सकिनै लाग्यो। अन्तिम टिपाइ भइसक्यो, यसवर्ष राम्रैगरी काँक्रा बिक्री भए,’ उनले भने, ‘झापाको चारआली र बिर्तामोड पुऱ्याउँदा कम्तीमा प्रतिगोटा ३० देखि ९० रुपैयाँसम्ममा बिक्री हुन्छ। वरपर अरू किसानबाट जम्मा गरेर पनि त्यहीँ मूल्य हामीले दियौँ।’
काँक्रो लगाउँदा एक लाख ५० हजार खर्च भएको उनले बताए।
‘छ–सात लाख आम्दानी भयो होला,’ उनले भने, ‘हाम्रो गाउँमा धेरै किसानले काँक्रो लगाएका थिए। प्रायः सबैजसो किसानले कम्तीमा चार–पाँच सय काँक्रो बिक्री गरेका छन्।’
काँक्रोबाट आम्दानी राम्रो हुने भएकाले यो क्षेत्रका धेरै किसानले हरेक वर्ष खेती गर्ने गरेको किसान गड्तौलाले बताए। सूर्योदय–१२ कै योगेन्द्र राई र सञ्जय राईले पनि काँक्रोखेती गरेका छन्।
‘सुरुमा खडेरीले अलि सतायो, सिँचाइ कम भयो तर पनि दुई हजारजति काँक्रो फल्यो होला’, उनीहरुले भने।
अहिले सूर्योदयका वडावडामै कच्ची भए पनि बाह्रै महिना सवारीका साधन सञ्चालन हुनसक्ने सडक भएकाले गाउँगाउँबाट किसानलाई तरकारी बिक्री गर्न धेरै सजिलो छ।
उत्पादन भए पनि ढुवानी गर्न नसक्दा बारीमै कुहिने बाध्यता भने किसानलाई धेरै टरेको पाइन्छ। यहाँका किसानले काँक्रो, गोलभेँडा, इस्कुस, अकबरे, फर्सी, बन्दा, काउली, इस्कुसका टुप्पा, फर्सीका टुप्पालगायत तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेका छन्।