-1710756574.jpg)
काठमाडौं— दार्चुलाको त्रिदेशीय नाका नजिकै अध्यागमन कार्यालय खोल्ने तयारी रहेको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन्।
दार्चुलाको व्यास गाउँपालिकास्थित तिंकरमा सरकारले दुई महिनाभित्र अध्यागमन कार्यालय खोज्ने काम गृह मन्त्रालयले अन्तिम चरणमा पुर्याएको गृहमन्त्री लेखकले जानकारी दिए।
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा सरकारले काम गरिरहेको लेखकले बताए। उनले चीन र भारतलाई जोड्नका लागि सडक निर्माण, सुक्खा बन्दरगाह र अध्यागमन कार्यालय खोल्ने कामलाई अगाडि बढाइएको जानकारी दिए।
‘महाकाली करिडोर र सेती लोकमार्ग तलगायतका महत्त्वपूर्ण लोकमार्गको निर्माणलाई अगाडि बढाएर भारतका साथसाथै चीनसँग यातायातलाई जोड्छौँ। नेपाली नागरिक र अर्को तेस्रो मुलुकका नागरिक पनि ती सडक प्रयोग गरेर चीनको महत्त्वपूर्ण ठाउँ, हिन्दु र बुद्ध धर्मावलम्बीहरूका लागि मानसरोवर र भारतका ठूला सहरहरू जोड्न प्रयत्न गर्नेछौँ,' मन्त्री लेखकले भने, 'यस प्रयोजनका लागि मेरै मन्त्रालयबाट आउने दुई महिनाभित्र तिंकरमा अध्यागमनको कार्यालय स्थापना गर्ने र तिंकरबाटै नेपाली र विदेशीहरूलाई सहजतापूर्वक मानसरोवर कैलाश जाने बाटो अगाडि बढाउने भन्ने कार्यक्रम अघि सारेको छु।’
सरकारले सुदूरपश्चिमबाट भारत र चीन जोड्ने योजना अगाडि सारेको गृहमन्त्री लेखकले जानकारी दिए। भारत संसारकै उदयीमान अर्थतन्त्र भएको र चीन संसारकै दोस्रो ठूलो अर्थतन्त्र भएको मित्रराष्ट्र भएको र सुदूरपश्चिमको भूगोल दुवै देशका महत्त्वपूर्ण ठाउँहरूबाट सबैभन्दा नजिक पर्ने भएकाले नेपालमा यातायात लगायतका व्यवस्था थप गर्न लागिएको उनले बताए। सुदूरपश्चिमबाट चीन र भारतसँग व्यापारिक सम्बन्ध विस्तारको लागि काम भइरहेको उनले जानकारी दिए।
गृहमन्त्री लेखकले कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह सञ्चालनमा ल्याउने कार्य अन्तिम चरणमा पुगेको पनि जानकारी दिए। उक्त बन्दरगाह सञ्चालनमा आएपछि सुदूरपश्चिमबाट भारतसँगको व्यापारिक सम्बन्ध स्थापना हुने उनले बताए।