
काठमाडौं— नेपालले प्रति युनिट ८ रुपैयाँ ७२ पैसामा भारतलाई बिजुली बेच्ने भएको छ। नेपालले द्विपक्षीय सम्झौतामा बमोजिम भारतका बिहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको हो।
भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई थप १२५.८९ मेगावाट र बिहारलाई १२५.००४ मेगावाट मध्यकालीन सम्झौता बमोजिम निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो।
प्राधिकरणका अनुसार १० जलविद्युत आयोजनाहरूबाट उत्पादित १२५.००४ मेगावाट विद्युत बिहारलाई बेच्नेछ। बिहारसँग प्रसारण लाइन जोडिएका कटैया, रक्सौल र रामनगर विन्दुमार्फत विद्युत् निर्यात गरिनेछ। यस्तै २ जलविद्युत् आयोजनाहरूबाट उत्पादित थप १२५.८९ मेगावाट विद्युत् हरियाणा राज्यलाई बिक्री गर्नेछ। प्राधिकरणले हरियाणा राज्यलाई हाल १०९ मेगावाट विद्युत् बिक्री गरिरहेको छ।
नेपालमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् हरेक वर्ष जुन देखि अक्टोबरसम्म बिहार र हरियाणालाई बिक्री गरिने छ। योसँगै मध्यकालीन सम्झौता बमोजिम भारतका राज्यस्तरका वितरण कम्पनीहरूलाई बिक्री गरिने विद्युत्को परिमाण ३६० मेगावाट पुगेका प्राधिकरणले जनाएको छ।
आगामी अक्टोबरसम्म बिक्री गरिने विद्युत्को बिक्री दर प्रति युनिट ८ रुपैयाा ७२ पैसा (५.४५ भारु) रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। गत वर्ष हरियाणालाई बिक्रीका लागि स्वीकृति दिएको १०९ मेगावाटको प्रति युनिट दर ८ रुपैयाँ ४० पैसा (५.२५ भारु) थियो। यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरु भने प्राधिकरणले बेहोर्नु नपर्ने जनाएको छ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ। भारतको इनर्जी एक्सचेन्ज (आईएक्स)को रियल टाइम मार्केट, डे–अहेड बजारमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम हरियाणा राज्यलाई बिक्री गरिरहेको छ। भारतबाट स्वीकृति पाएसँगै अब बिहारलाई पनि विद्युत् बिक्री सुरु हुनेछ। प्रतिस्पर्धी बजार र मध्यकालीन सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरूबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री हुनेछ।
भारतीय पक्षबाट स्वीकृति पाएसँग अब छिट्टै बिहार र हरियाणामा थप विद्युत् निर्यात सुरु गरिने घिसिङले बताए। ‘स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत् निर्यात गर्न सक्ने हुँदा अब एक हजार मेगावाटभन्दा बढी निर्यात गर्न सक्ने अवस्था बनेको छ, थप २०० मेगावाट निर्यात स्वीकृतिको प्रक्रियामा रहेको छ, छिट्टै स्वीकृति पाउनेमा विश्वस्त छौँ, ’ उनले भने, ‘अब विद्युत् निर्यातको परिणाम बढ्दै जानेछ।’ चालु आर्थिक वर्षमा २५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने लक्ष्य राखिएको घिसिङले बताए।
प्राधिकरणले सुख्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरुबाट विद्युत् उत्पादन घट्ने हुँदा गत आर्थिक वर्षमा भारतबाट १ अर्ब ८९ करोड युनिट अर्थात १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरेको थियो। तर यही अवधिमा १ अर्ब ९५ करोड युनिट विद्युत् भारतर्फ निर्यात गरी १७ अर्ब ६ करोड रुपैयाँ आम्दानी गरेको थियो। गत आर्थिक वर्षमा आयातभन्दा १३ करोड रुपैयाँको बढीको विद्युत् निर्यात भएको थियो।
गत आर्थिक वर्षबाट खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको प्राधिकरणले जनाएको छ।