News Griha :: न्यूजगृह
पहिरोमा ज्यान गुमाएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख दिने

कैलाली— बझाङको बुङ्गल नगरपालिका–१० टुमेडागाउँमा पहिरोमा परी मृत्यु भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख दिने घोषणा गरेको छ।

सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले  प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहत स्वरुप सो रकम प्रदान गर्ने घोषणा गरेका हुन्। 

यही भदौ २ गते राति १ बजे परेको अविरल वर्षाका कारण टुमेडागाउँका वीरबहादुर धामीको घर पहिरोले पुरिँदा धामीको ५५ वर्षीया धर्मपत्नी काली, २५ वर्षीया जेठी बुहारी गोल्की, छ वर्षीया नातिनी आकृति र तीन वर्षीया नातिनी लक्ष्मी गरी चार जनाको ज्यान गएको थियो। 

मुख्यमन्त्री शाहले पहिरोमा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै तत्काल उद्धार तथा राहत कार्यमा संलग्न हुन सम्बन्धित निकायलाई निर्देशन दिइएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १६:५६
Weather Update