परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता

काठमाडौं— भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन्।
आइतबार नयाँ दिल्ली पुगेकी राणाले सोमबार जयशंकरसँग भेटवार्ता गरेकी हुन्।
भेटवार्ताका क्रममा दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल भएको बताइएको छ। यद्यपि भेटवार्तामा छलफल भएका विषयको विस्तृत विवरण सार्वजनिक हुन बाँकी नै छ।
विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमा राणासँगको तस्बिर सार्वजनिक गर्दै भारतमा स्वागत गरेका छन्।
परराष्ट्रमन्त्री राणाले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिने बताइएको छ।
मन्त्री बनेपछि राणाको पहिलो विदेश भ्रमण हो। उनी आगामी बिहीबार स्वदेश फर्कने तालिका छ।
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१ १३:०१