पहिरोले टहरो पुरिँदा जाजरकोटमा एकै परिवारका तीन जनाको मृत्यु

जाजरकोट— जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर २ माझगाउँमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ।
गएराति गएको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए।
अधिकारीका अनुसार पहिरोमा परी ४२ वर्षीय लालबहादुर परियार र उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र २ वर्षका छोराको मृत्यु भएको छ।
वडा नम्बर २ का वडाध्यक्ष पूर्णबहादुर खत्रीका अनुसार भूकम्पले घर भत्किएपछि लालबहादुर परियारको परिवार अस्थायी टहरामा बस्दै आएको थियो।
वडाअध्यक्ष खत्रीले भने, 'माथिबाट आएको पहिरोले अस्थायी टहरा भत्काइदियो। दुःखद घटना भयो।' ठाउँठाउँमा पहिरो गएकाले विद्युत् र सडकसमेत अवरुद्ध भएको वडाध्यक्ष खत्रीले जानकारी दिए।
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१ १०:०२