News Griha :: न्यूजगृह
पर्यटन पदमार्ग गोसाइँकुण्ड जाने तीर्थालुले भरिभराउ

नुवाकोट— यही भदौ ३ गते जनैपूर्णिमाका दिन रसुवाको गोसाइँकुण्ड स्नान गर्न नुवाकोटतर्फको पदमार्ग हुँदै जाने तीर्थयात्रीको सङ्ख्या वृद्धि भएको छ।

विगतका वर्षमा यस मार्गबाट जानेको सङ्ख्या दुई हजार हाराहारीमा हुने गरेकामा यसवर्षको आज बिहानसम्म तीन हजारभन्दा बढी तीर्थयात्री नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ फेदी हुँदै त्यसतर्फ प्रस्थान गरेका छन्।

लाङ्टाङ गोसाइँकुण्ड हेलम्बु होटल व्यवसायी सरोकार समितिका उपाध्यक्ष पेम्बा लामाका अनुसार रसुवाको धुञ्चे हुँदै जाने पदमार्गको विकल्पका रुपमा विस्तार गरिएको नुवाकोटको फेदी हुँदै पदमार्गबाट यात्रा गर्ने तीर्थयात्रीको आगमन उत्साहजनक रुपमा बढेको छ।

‘पर्यटकीय पदमार्ग तथा प्राकृतिक सुन्दरतासँग रमाउन चाहने तीर्थयात्रीका लागि पदमार्गको स्तरोन्नतिगरी यात्रालाई सहज बनाएसँगै आगमन यात्रीको बढेको हो”, उपाध्यक्ष लामाले भने, ‘तीर्थयात्रीको सेवाका लागि बासस्थान, शान्ति, सुरक्षा, भरियालगायत आवश्य प्रबन्ध मिलाएका छौँ।’

उनका अनुसार नुवाकोटको घ्याङ्फेदीबाट सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड जाने तीर्थालुका लागि ठाउँठाउँमा सुविधासम्पन्न गेष्ट हाउस र होमस्टे सञ्चालित छन्। 

यात्रालाई लक्षित गर्दै नेपाल प्रहरी र नेपाली सेनासहित स्वयंसेवकमार्फत सुरक्षा व्यवस्था, खानपान र बसोबास, पथप्रदर्शक, भरिया, थर्पु (अस्थायी होटल), खानेपानी, प्राथमिक उपचार, शौचालयलगायत सुविधा उपलब्ध गराइएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शङ्कर थापाले जानकारी दिए।

उनका अनुसार दुप्चेश्वरमा पर्ने पदमार्गको विभिन्न स्थानमा तिर्थालुलाई पर्नसक्ने समस्या पहिचान गर्न, आवश्यक सहयोग गर्न पालिकाले स्वयंसेवकको टोली तयारीमा अवस्थामा राखेको छ। 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १६:५३
Weather Update