नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा केन्द्रीय कारागार सुन्धारा चलान

काठमाडौं— नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी भएको प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान भएका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले आइतबार झालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो। अदालतको आदेशपछि झालाई केन्द्रीय कारागार सुन्धारा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।
झालाई चार वटा कसुरमा मुद्दा दायर गरिएको थियो। ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो। भारतीय समेत नागरिकता रहेको दाबी गरिएका झाको नेपाली ठेगाना भने पर्साको वीरगञ्ज उपमहानगरपालिका–७ छ।
६६ वर्षीय झाले भने आफूमाथि लागेको सबै आरोपको खण्डन गर्दै आफूलाई केही जानकारी नभएको बयान दिएका थिए।
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१ १६:३४