
काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई सुदृढ र एकतावद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको बताएका छन्।
पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन्।
कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धको आधार तयार पार्न मधेशमा रामवृक्ष यादवको गुणात्मक योगदान रहेको बताए। अध्यक्ष प्रचण्डले जनताका मुद्दाका रक्षाका निम्ति माओवादी केन्द्रले सङ्घर्षको मोर्चालाई सुदृढ गर्नेसमेत बताए।
अध्यक्ष प्रचण्डले भने, 'जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशङ्का जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन्। जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन। मैले सदन र सडकबाट सङ्घर्षको विकल्प देखेको छैन। हामीले राम्रो काम गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन गरिएको छ। यो अपवित्र छ, यसको उद्देश्य गलत छ। पार्टीलाई सुदृढ गर्ने, अझ बलियो बनाउनेतिर हामी अगाडि बढेका छौँ।'
उनले थपे, 'स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल गरिरहेका छौँ। पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढेको छ। केन्द्रीय समितिको बैठकबाट व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर अगाडि बढ्छौँ।'