परराष्ट्रमन्त्री राणा आज भारत जाँदै

काठमाडौं— परराष्ट्र मन्त्री आरजु राणा देउवा आइतबार पाँच दिने भारत भ्रमणमा जाँदै छिन्। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री राणा आइतबार नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका छ।
भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेकी हुन्। भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय वार्ता गर्ने छिन्। दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भारतीय विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर परराष्ट्र मन्त्री राणा नयाँ दिल्ली आउन लागेको जानकारी दिएको छ। परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको जनाइएको छ।
मन्त्री राणा भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१ ०८:१५