News Griha :: न्यूजगृह
जीपी कोइराला श्वासप्रश्वास केन्द्र हजार शय्याको बन्ने

काठमाडौं— भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई चिकित्सा विज्ञान शिक्षण प्रतिष्ठानका रुपमा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलसँग शुक्रबार भएको शिष्टाचार भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले तीन सय शय्याको केन्द्र निर्माण पूरा भएपछि अर्को चरणमा केन्द्रलाई एक हजार शय्यामा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। 

नेपाल र भारतबीच प्रधानमन्त्रीस्तरमा भएको समझदारीअनुसार केन्द्रको तीन सय शय्याको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ। भविष्यमा मुुलुकका निम्ति आवश्यक पर्ने चिकित्सा सेवा एवं अध्ययन अनुसन्धान तीन सय शय्याबाट पर्याप्त नहुने भएकाले त्यसलाई एक हजार शय्यामा स्तरोन्नति गर्न राष्ट्रपति पौडेलले विशेष जोड दिँदै आएका थिए।   

शहरी आवास तथा भवन निर्माण विभागले तीन सय शय्याको डीपीआरसम्बन्धी संरचना तयार गरी निर्माण पनि तदनुरूप हुनु पर्ने तर्फ उनले नेपाल सरकारका सम्बन्धित निकायको ध्यान आकृष्ट गर्दै आएका थिए। 

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा केन्द्र स्थापना भएको हो। केन्द्रलाई देशको विशिष्ट अस्पताल तथा चिकित्सा शास्त्र अध्ययन प्रतिष्ठानका रुपमा विकास गर्ने लक्ष्य छ।

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १६:१६
Weather Update