
काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतावद्ध रहेको र एकताबद्ध भएर केन्द्रीय कमिटी बैठकमा जाने बताएका छन्। शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले स्थायी कमिटीको बैठकमा केही सदस्यहरूले भिन्न ढङ्गले धारणा राखेको बताए। उनले पार्टी उपमहासचिव जनार्दन शर्माले लिखित रुपमा आफ्नो धारणा राखेको र त्यो फरक मत नरहेको बताए।
उपमहासचिव शर्माले पार्टी फुटाउन खोजेको भन्ने कुरा नेतृत्वबाट नभनिएको बताए। उनले स्थायी कमिटीको अन्त्यसम्म आउँदा पार्टी फुटाउने जनार्दन शर्माको कुनै नियत र उद्देश्य छैन भन्ने स्पष्ट भएको पनि बताए। आफूलाई केही मानिसले पार्टी फुटाउन लागेको भन्ने हल्ला सुनाएकाले केही संशय भने पैदा भएको अध्यक्ष दाहालको स्वीकारोक्ति थियो। उनले जनार्दन शर्माले पार्टी फुटाउन खोज्यो भन्ने भ्रमबाट मुक्त हुन आग्रहसमेत गरे।
उनले पार्टी अब नफुट्ने पनि दाबी गरे। उनले उपमहासचिव शर्माले उठाएका केही कुराहरू गम्भीर आशङ्का रहेको बताए। उनले भने, ‘स्थायी कमिटीको बैठकमा जब हामी गयौँ, केही कमरेडले अलि भिन्न ढङ्गले राख्नुभएको थियो। सबैलाई थाहा नै छ। कमरेड जनार्दन शर्माले लिखित रुपमा राख्नुभएको थियो। उहाँले मेरो फरक मत हो भनेर त राख्नुभएको थिएन। त्यहाँ फरक मत भनेर लेखिएको पनि छैन। उहाँले आफ्नो मतको रुपमा राख्नुभयो। यो मेरो फरक मत होइन, मत मात्रै हो। जनार्दन शर्माले पार्टी फुटाउन खोज्यो भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्दछु। पार्टी फुट्दैन, त्यो सुनिश्चित भएको छ। अब एकतावद्ध भएर जाने हो। कसैले भन्दैमा त्यो आशङ्का राख्न परेन। उहाँले उठाएका गम्भीर आशङ्काका विषय छन्। व्यवहारिक कुराहरू आशङ्काका छन्। ति पनि स्थायी समितिको बैठकको अन्त्यसम्म आउँदा क्लियर हुने भनेको छु।’
अध्यक्ष दाहालले आगामी निर्वाचनसम्म पार्टीलाई राम्रो पार्टीका रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए। उनले आगामी दिनमा देशव्यापी रूपमा अभियान सञ्चालन गर्ने बताए। जनतासँग सम्बन्धित भएर पार्टी रूपान्तरण एवं एकीकरण गर्ने बताए।