
सोलुखुम्बु— सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा शुक्रबार दिउँसो बाढीले २० घर, थामे आधारभूत विद्यालय र एउटा क्लिनिकको भवन बगाएको छ। थामे खोलाको बाढीमा परी ५५ वर्षीय निमा नुरु टुडु शेर्पा बेपत्ता भएका छन्।
पर्यटकीय गाउँ थामेमा दिउँसो करिब १ः३० बजे अचानक बाढी आएको थियो। दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलामा एक्कासि आएको बाढीले स्थानीयलाई अत्याएको जिल्ला प्रहरी कार्यालयका डीएसपी द्वारिकाप्रसाद घिमिरेले बताए।
‘बाढीले केही घर पुरेको छ, केहीलाई क्षति गरेको छ। एक जना बेपत्ता छन्। दिउँसोको घटना हुनाले ठूलो मानवीय क्षति भने हुन पाएन,’ उनले भने। बाढी आउँदा विद्यालय छुट्टी भइसकेको थियो। कतिपय स्थानीय शुक्रबारे हटिया भर्न पाँच घण्टा पैदल दूरीमा रहेको नाम्चे गएका थिए। डीएसपी अधिकारीका अनुसार बाढीले क्षति गरेका सातवटा घर ढल्ने अवस्थामा छन्।
प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार बाढी आएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय थाम्बुचे, नाम्चेबाट प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो।
डीएसपी घिमिरेले थामेमा रहेका प्रहरीसँग समेत आफूहरूको सञ्चार सम्पर्क विच्छेद रहेकाले घटनास्थलबारे विस्तृत विवरण थाहा हुन नसकेको बताए । ‘न टेलिफोन चल्छ, न त हाम्रो सञ्चार सेटले नै काम गरेको छ,’ उनले भने।
खोला थामेमा आएको बाढी मिसिएपछि दूधकोशीको तटीय क्षेत्रमा पनि क्षति पुगेको छ। दूधकोशीमा पानीको बहाव बढ्दा खुम्बु क्षेत्र जाने एक मात्र पक्की पुलमा क्षति पुगेको छ।
माप्यदूधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने ओर्लाङघाटको पुलको एउटा भाग भासिएको हो। प्रहरीका अनुसार अब मर्मत नगरी उक्त पुलमा गाडी चल्न सक्दैन । उक्त पुल दुवै गाउँपालिकाले संयुक्त लगानीमा मितेरी पुलका रूपमा निर्माण गरेका थिए। दूधकोशीको उच्च बहावले जोरसल्लेमा २ सय मिटरभन्दा बढी पैदलमार्ग बगाएको छ।
पालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाका अनुसार थामेको जनसंख्या ३ सय ७० हो। तर पर्यटकीय समय नभएकाले अहिले आधाभन्दा बढीको बसाइ काठमाडौं लगायत अन्य ठाउँमा छ । प्रहरीका अनुसार बाढीपछि थामेका ९३ जना, स्थानीय विद्यालयको छात्रावासमा रहेका आठ शिक्षक, दुई कर्मचारी र ३२ विद्यार्थीसहित १ सय ३५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ।
पीडितका लागि स्थानीय सरकारले राहतको योजना बनाउन थालेको छ। ‘ठूलो विपद् आइपरेको छ, हामी प्रभावकारी राहत वितरणको प्याकेज बनाउँदै छौं,’ गाउँपालिकाका अध्यक्ष मिङमाछिरी शेर्पाले भने।